काठमाडौं। २०७२ सालको विनासकारी भुकम्पले क्षतिग्रस्त बनाएको पाटन दरबार क्षेत्रको सम्पदाको पुननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ। विश्व सम्पदा सुचिमा सुचिकृत सो क्षेत्रको सम्पदा पुननिर्माण हाल ९५ प्रतिशत सकिएको छ। उपत्यकाको तीनवटै जिल्लामध्ये ललितपुरको पाटन क्षेत्रमा भुकम्पबाट क्षतिग्रस्त भएका सम्पदाको पुननिर्माण सबैभन्दा अगाडी रहेको छ।
भुकम्पले क्षतिग्रस्त उक्त क्षेत्रको मुख्य रुपमा रहेको विश्वनाथ मन्दिर, चार नारायण मन्दिर र कृष्ण मन्दिरलगाएतका सम्पदाहरुको पुननिर्माण सम्पन्न भएको छ। पुरातत्त्व विभागको प्राविधि स्वीकृतिमा उक्त क्षेत्रका सम्प दाको पुननिर्माण भइरहेको छ। उक्त क्षेत्रको सम्पदाको मुख्य काम सम्पन्न भइसकेको पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिएका छन्। ५० रोपनी क्षेत्रफलमा फैलिएको पाटन दरबार क्षेत्रमा विभिन्न धार्मिक एवम् ऐतिहासिक महत्त्व बोकेको सम्पदा तथा चोक रहेका छन्। विनासकारी भुकम्पले पाटन दरबार क्षेत्रको उत्तरी तलेजु, कृष्ण मन्दिर, योगनरेन्द्र मल्लको सालिक, सुन्दरी चोक, बहादुर शाह बैठक भवन तथा मुल चोक, चार नारायण मन्दिर, हरिशङ्कर मन्दिर, मणिमण्डप, विश्वेश्वर र दक्षिणी तलेजुलगाएतका संरचनामा क्षति पुर्याएको थियो।
उक्त क्षेत्रका भुकम्पबाट क्षतिग्रस्त भएका २२ वटा संरचनामध्ये २० वटाको पुननिर्माण सम्पन्न भइसकेको र बाँकी रहेको द्द वटामा एउटाको पुननिर्माण अन्तिम चरणमा रहेको र एउटाको सुरु नै नभएको काठमाडौं संरक्षण कोषका निर्देशक रोहित रञ्जितकारले जानकारी दिएका छन्। त्यसैगरी भीमसेन मन्दिरको पछाडी रहेको लाखे आगमःमन्दिरको पुननिर्माणको लागि स्रोत जुटाउने काम भइरहेको छ। सो क्षेत्रमा नेपालका लागि अमेरिकी, जर्मन, जापानी । श्रीलङ्कन राजदुतावास तथा ललितपुर महानगरको आर्थिक सहयोगमा पुननिर्माण भइरहेको छ। करिब २० करोडको लागतमा उक्त क्षेत्रको सम्पदाको पुननिर्माण हुन लागेको हो। अबको डेढ वर्षभित्र यस क्षेत्रको पुननिर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।