काठमाडौं। सार्वजनिक खरिद कानुनको परिपालना र सार्वजनिक निकायको खरिद तत्परता बढाउन पहल शुरु गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले बजेटको कार्यान्वयन प्रभावकारी बनाउनका लागि सार्वजनिक खरिद प्रक्रिया प्रभावकारि बनाउन लागेको हो।
यसका लागि सबै सार्वजनिक निकायले अनिवार्यरुपमा खरिद योजना बनाउनु पर्ने र सो खरिद योजनालाई अनिवार्यरुपमा विद्युतीय खरिद प्रणालीमा प्रविष्ट गर्नुपर्ने तथा उक्त कार्ययोजना अनुरुप खरिद प्रक्रिया अगाडि बढाउनु पर्नेछ ।
अब सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायले खरिद योजना बनाए वा नबनाएको, सोको विवरण विद्युतीय खरिद प्रणालीमा प्रविष्ट गरे नगरेको र सो अनुरुप खरिद कार्य गरे नगरेको अनुगमन विद्युतीय खरिद प्रणालीबाट गर्नेछ।
यसका साथै त्यसका लागि खरिद इकाइ प्रमुख र कार्यालय प्रमुखसँग नियमितरुपमा प्रतिवेदन लिने समेत व्यवस्था गरिएको बताइएको छ। सार्वजनिक निकायको खरिद तत्परताको अवस्था मापन गरिने र यसमा खरिद इकाइको गठन, खरिद योजनाको निर्माण, खरिद योजना अनुरुपको समयमा काम भए नभएको तथा समयमा निर्णय गरिए नगरिएको विषयमा अन्तरनिकाय समन्वय गर्नुपर्ने छ।