काठमाडौं।। दोलखाको विगु गाउँपालिका–५ चिलखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको छ। हेल्थ नेपाल नामक संस्थामार्फत जर्मनी नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीबाट अस्पताल निर्माणका लागि आर्थिक सहयोग जुट्ने बताइएको छ।
केन्द्रका अध्यक्ष प्रवीण खड्काका अनुसार अस्पताल चत्रलेश्वरी सामुदायिक स्वस्थ्य केन्द्र मातहत सञ्चालन हुने छ। उनका अनुसार उक्त भवनमा विभिन्न सुविधासम्पन्न मेसिन औजारहरु हुनाका साथै २१ कोठाको भवन हुनेछ। भवनको डिजाइन जर्मनका इञ्जिनीयर टोलीले नै गर्ने उनले बताए। भवन निर्माणका लागि तीन करोड ८७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
हाल जर्मनमा बस्दै आउनुभएका छिरिङ शेर्पा र उस्की श्रीमती जर्मनी नागरिक चिकित्सक सोफिया तथा चिकित्सक क्लाउसको अग्रसरतामा उक्त भवन निर्माण गरिने केन्द्रका अध्यक्ष खड्काले बताए। उनका अनुसार अस्पतालका लागि आवश्यक पर्ने करिब साढे ६ रोपनी जग्गा उक्त संस्थाको नाममा ल्याइने छ। यसका लागि दुई रोपनी इको हिमाल र आधा रापनी जेनी खड्कले दान दिएको उनले बताए।
बाँकी जग्गा २९ जना दाताबाट सङ्कलन गरिएको रकमबाट स्थानीय व्यक्तिहरुसँग खरिद गरिएको अध्यक्ष खड्काको भनाइ छ। अस्पताल निर्माण भएपछि जिल्लाका उत्तरी क्षेत्रका विगु गाउँपालिकाको वडा नं ५, ६, ७, ८ का १० हजारभन्दा बढी जनसङ्ख्या लाभान्वित हुने गाउँ पालिकाको स्वास्थ्य संयोजक ईश्वर खड्काले जानकारी दिए।
जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेका अनुसार अस्पतालको निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोगमा हातेमालो गर्नु स्थानीय सरकारको गहन जिम्मेवारी र दायित्व हो, स्थानीयस्तरमा यस प्रकारको अस्पताल तथा स्वस्थ्य क्षेत्रको विकास हुँदै जाँदा मात्रै आफ्नो सरकार घरदैलोमा आएको स्थानीयवासीमा भान हुन्छ। सदरमुकाम चरिकोटबाट ४४ किलोमिटर उत्तरतर्फ उक्त अस्पताल निर्माण हुने बताइएको छ।