काठमाडौं। धरहराको भूमिगत पार्किङ अस्थायीरुपमा सञ्चालनमा ल्याइएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले दशैं, तिहार, छठलगायत पर्वमा हुने भीडलाई मध्यनजर गर्दै निर्माणाधीन धरहराको भूमिगत पार्किङ सञ्चालनमा ल्याएको हो।
चाडपर्वमा न्यूरोड, इन्द्रचोक, असन लगायत भित्री सहरमा किनमेल गर्नेको ठूलो भीड लाग्ने तर पार्किङको पर्याप्त व्यवस्था नरहेकाले ट्राफिक जाम व्यवस्थापन गर्न धरहराको पार्किङ खुलाएको बताइएको छ।
यहा पार्किङका लागि सर्वसाधारणले शुल्क समेत तिर्नु नपर्ने महानगरले जनाएको छ।
दीर्घकालीन रुपमा धरहरामा नै पार्किङ गर्ने विषयमा भने छलफल भइरहेको बताइएको छ। अहिले अण्डरग्राउण्ड पार्किङमा १३५ वटा गाडी र २५० वटा मोटरसाइकल सहजरुपमा पार्किङ गर्न सकिन्छ।