काठमाडौं। हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गर्ने भएको छ । कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारण सभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर जारी गर्ने निर्णय गरेको हो ।
प्रति कित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा सेयर जारी हुनेछ, जुन जारी पुँजीको १५ प्रतिशत हो ।
अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ ।
यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ । बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ ।
साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । त्यसपश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ ।