काठमाडौं। ‘तेस्रो एसिया-प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । अक्टोबर १९ र २० मा बैंकमा हुने फोरममा सहभागी हुन मन्त्री बस्नेत बैंकक प्रस्थान गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देललगायत उच्च अधिकारीले उनलाई बिदाइ गरेका छन्। दिगो विकासका लक्ष्य प्राप्तिमा ऊर्जा क्षेत्रले पुर्याएको योगदान, नेपालले अवलम्बन गरेको नीति, कार्यक्रम र लक्ष्य तथा त्यसबाट प्राप्त प्रगतिलगायत विषयमा मन्त्री बस्नेतले फोरममा सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै, जलवायु परिवर्तनमा नेपालको भूमिका कम भए पनि असर भने बढी परेको सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल महत्त्वपूर्ण हुने मन्त्रालयले जनाएको छ । कार्बन उत्सर्जन र न्यूनीकरणका लागि गरिएको प्रयासका बारेमा समेत उक्त कार्यक्रममा विचार विमर्श हुने छ । मन्त्री बस्नेतसँग वैकल्पिक ऊर्जा प्रवर्द्धक केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल पनि थाइल्याण्ड गएका छन् ।