भोजपुर। भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको छ। सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाका इन्जिनियर शिवकुमार शाहले जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईलाई बुधबार नवनिर्मित रङ्गशालाको चाबी हस्तान्तरण गरेका हुन्।
रङ्गशालाको चाबी बुझ्दै प्रमुख राईले रङ्गशालाले यहाँका खेलाडीको मनोबल बढ्ने बताएका छन्। उनले भने, ‘खेल मैदान नहुँदा खेलाडीमा निराशा छाएको थियो, अब रङ्गशाला बनेको छ, यसको संरक्षण र सम्बर्द्धन गर्दै ठूला प्रतियोगितासमेत सञ्चालन गर्न सकिन्छ।”
तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि २०६४ सालमा जग्गा खरिद गरेको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले हेर्ने गरी प्रदेश सरकारको रु १४ करोड लगानीमा रङ्गशाला निर्माण भएको हो ।
रङ्गशालाको निर्माणको जिम्मा रायमाझी मार्सेली निर्माण जेभीले पाएको थियो ।