काठमाडौं। सरकारले दशैं अगाडि नै निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा स्रोत अभावले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ आज (शुक्रबार) सम्ममा भुक्तानी हुने भएको हो।
दशैंअघि नै भुक्तानी गर्ने भनिएपनि आइतबारदेखि दशैंबिदा भएकाले आज नै भुक्तानी हुने बुझिएको छ।
निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेको र निकासीको लागि परिपत्र जारी गरिसकेको छ। उक्त भुक्तानी दशैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था समेत गरिएको अर्थ मन्त्रालय स्राेतले जनाएकाे छ।
यसअघि गत असोज ९ गते अर्थमन्त्री प्रकाशशरण महतले चितवनको एक कार्यक्रममा निर्माण व्यवसायीको भुक्तानी दसैंअघि नै उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए।
लामो समय भुक्तानी नपाउँदा ठूलो समस्या झेल्दै आएका निर्माण व्यवसायीहरुले यसअघि भुक्तानीकै लागि पटक पटक चरणबद्ध रुपमा आन्दोलनका विभिन्न कार्यक्रम समेत गरेका थिए। आन्दोलन भन्दा अघि र आन्दोलन पछि पनि नेपाल निर्माण व्यवसायी महासंघ लगायत देशभरका निर्माण व्यवसायीहरुले विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराउने काम निरन्तर गर्दै आएका थिए।