काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका केही किरण देखिन थालेको बताएका छन्। दसैं, तिहार, छठ, नेपाल संवतलगायतको अवसरमा महासंघद्वारा आयोजित चियापानमा अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका केही किरण देखिन थालेको बताएका हुन्।
उनले बाह्य परिसूचक र तरलताको अवस्थामा सुधार भएकाले समन्वयात्मक रूपमा अघि बढे अर्थतन्त्र सुधारको चरणमा प्रवेश गर्ने बताएका छन्।
उनले पछिल्ला दुई वर्ष उद्यमी व्यवसायीका लागि उत्साहजनक नरहेको समेत बताए। अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग बनाउन प्रधानमन्त्री सकारात्मक भएको र त्यसमा सबै क्षेत्रको प्रतिनिधित्व हुनेमा पनि उनले विश्वास व्यक्त गरे।
अर्थतन्त्र सुधारको सुझावका लागि गठन हुने आयोगमा निजी क्षेत्रको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने ढकालको भनाई छ। उनले अर्थ, उद्योग मन्त्रालय, योजना आयोग एवं नेपाल राष्ट्र बैंकको उच्च नेतृत्व आयोगमा रहनु आवश्यक हुने महासंघको सुझाव रहेको समेत बताए।
अर्थतन्त्र सुधार भएमा बैंक तथा वित्तीय संस्था लगानीका लागि तयार रहेको पनि उनले बताए। बैंक तथा वित्तीय संस्थासँग अहिले पाँच खर्ब रुपैयाँ रहेको पनि ढकालको भनाई छ। अर्थतन्त्रमा सुधार भए ब्याजदर कमी हुँदै जाने उनको भनाई छ। नीतिगत सुधार र स्थायित्व भने कायम हुनुपर्ने उनको भनाई छ।