काठमाडौं। सर्वोत्तम सिमेन्टले तिहारलगत्तै आईपीओ ल्याउने भएको छ। योग्य संस्थागत लगानीकर्ताहरुको बाँडफाँट सकिएपछि सर्वसाधारणलाई आईपीओ ल्याउने प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ।
आम लगानीकर्ताले ३६० रुपैयाँका दरले आईपीओमा आवेदन दिन पाउने बताइएको छ। जुन तय भएको हालको कटअफ मूल्यभन्दा १० प्रतिशत कम हो। ४०१ रुपैयाँमा कटअफ मूल्य निर्धारण गरिएको छ। क्यूआईआईको आशय अनुसार निष्कासित सबै सेयर सो मूल्यमा बिक्री हुने भएपछि त्यसलाई कटअफ निर्धारण गरिएको हो।
तर वास्तविक कटअफ मूल्य भने बोलकबोल पछि मात्रै तय हुन्छ। बोलकबोलको लागि आवश्यक स्वचालित विद्युतीय प्रणाली नेप्सेले उपलब्ध गराउँछन्। बिडिङ ४०१ भन्दा कममा हुँदैन। माथिल्लो सीमा ५७७.४४ रुपैयाँ तय गरिएको छ। यहि सीमाभित्र बसेर क्यूआईआईले बोली लगाउनेछन्। बोलकबोल सम्पन्न भएको अर्को दिन नेप्सेले कटअफ मूल्य निकाल्छ।
गत आर्थिक वर्ष कम्पनीले ५ अर्ब ४० करोडको कारोबार गरेको थियो। जसमध्ये २१ करोड नाफा मात्रै थियो। चालु वर्ष कम्पनीले साढे ८ अर्बको कारोबार गर्ने प्रक्षेपण गरेको छ। जुन अघिल्लो वर्षको भन्दा ५७ प्रतिशतको वृद्धि हो।
कम्पनीले प्रक्षेपण गर्नको मुख्य कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासको कारोबार हो। यसपटक तीन महिना मै व्यापार डेढ अर्ब नाघेको छ। निर्माण क्षेत्र नै सुस्त हुने समयमा व्यवसाय बढेपछि प्रक्षेपण ह्वात्तै बढाउने आधार बनेको हो। जबकि पोहोर सो अवधिमा एक अर्ब १० करोडमा सीमित थियो। भारत निकासीले व्यापार बढ्ने कम्पनीको अनुमान हो। कम्पनीको अनुमानित नाफा नै तीन महिनामा ९ करोड छ। पहिलो त्रैमासमै ३० करोड रुपैयाँको सिमेन्ट भारत निर्यात गरिसकेको छ।