फाइल तस्बिर
काठमाडौं। दशैंको समयमा घर जाने नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराइएको छ। नेपाली सेना र सशस्त्र प्रहरी बलले आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको हो।
नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको छ। यस वर्षको बडादशैंमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार सडक सञ्जालको पहुँच पुगेका स्थानमा बस मार्फत् चार सय २१ जनाले हालसम्म सेवा पाएका छन्। यस्तै सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी–हिमाली क्षेत्रलगायत लामो दूरीका गन्तव्यमा हवाई उडानमार्फत छ सय पाँच जना गरी हालसम्म एक हजार २६ जना सकलदर्जा एवं आश्रित परिवारले सेवा पाएका जानकारी दिइएको छ । उक्त सुविधा सेनाले यही कात्तिक २ गतेसम्म उपलब्ध गराउने छ।
सशस्त्र प्रहरीले भने निःशुल्करूपमा सुरु गरेको सेवा आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाएको छ।