काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र राखिएका वस्तु तथा सेवाको व्यापार गर्ने पसलहरुले लिन पाउने मूल्यको सीमा तोक्न उच्चस्तरीय समिति गठन गरेको छ।
विमानस्थल भित्रका पसलको मूल्य बाहिर बजारको तुलनामा महँगो
भएको गुनासो आएपछि मूल्य सीमा तोक्न समिति गठन गरिने भएको हो।
विमानस्थलका पसलमा सामानको मूल्य महंगो भएको भन्ने उपभोक्ताबाट पटक पटक गुनासो आइरहेपछि केही दिन अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अनुगमन गरेका थिए ।
सो क्रममा कतिपय पसलमा एमआरपी नराखिएको र कतिपयमा महँगो मूल्य राखेको पाइएपछि विमानस्थल व्यवस्थापनले वाणिज्य विभागलाई अनुगमन गर्न भनेको थियो ।
विमानस्थलभित्र प्राधिकरणले तोकेको मूख्यमा भाडा तिर्नुपर्ने, अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्नुपर्ने भएकाले बाहिरकै बजारको मूल्य राख्दा त्यसले गुणस्तरमा पर्ने प्रभाव समेतको अध्ययन गरी सीमा तोक्न बिहीबार प्राधिकरणले एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको प्राधिकरणले जनाएको छ।