काठमाडौं। यस वर्षको दशैंका लागि काठमाडमौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या १० लाख पुग्ने अनुमान गरिएको छ। उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रु तथा सवारी साधनको तथ्यांक संकलन गरिरहेको ट्राफिक प्रहरीका अनुसार यो वर्ष दशैं मनाउन उपत्यकाबाट बाहिरिने यात्रु संख्या १० लाख पुग्ने भएका हुन्।
प्रहरीका अनुसार १० लाखकै हाराहारीमा उपत्यका बाहिरबाट पनि दशै मनाउनको लागि काठमाडौं भित्रने अनुमान छ। यसअनुसार दशैं, तिहार र छटलगायतका चाडपर्वको अवसरमा मात्रै २० लाख मानिसको आउजाउ हुने अनुमान छ।
चाडपर्वलाई केन्द्रित गरी विद्यालयदेखि विश्वविद्यालयसम्मले विदा शुरु भइसकेको छ । यही हप्ताभित्र सरकारी कार्यालयदेखि, संस्थान र निजी कार्यालयसमेत बन्द हुनेछन । यसले काठमाडौं छाड्नेको संख्यामा अझ वृद्धि हुनेछ ।
यात्रुको सुविधाका लागि ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा सहयोग कक्ष राखेको छ । चाबहिल, कलंकी, बालाजु, नयाँ बसपार्क, गौशाला, काटेश्वर, सातदोबाटो, बल्खु, सुन्धारालगायतका क्षेत्रमा सहयोग कक्ष राखिएको हो । ती ठाउँबाट यात्रुले जुनसुकै वेला सहयोग लिन सक्छन् ।