गाईघाट। ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको उदयपुरगढीको पुनर्निर्माण गरी उद्घाटन गरिएको छ । आइतबार नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीका प्रमुख उपरथी आसबहादुर तामाङ् र उदयपुरगढी गाउँपालिकाका प्रमुख मानबहादुर केप्छाकी मगरले संयुक्त रुपमा एक समारोहका बीच शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन्।
सदरमुकाम गाईघाटबाट ३८ किलोमिटर उत्तरपश्चिमा र समुद्र सतहदेखि ११६० मिटरको उचाइमा १५ रोपनि जग्गाको क्षेत्रफलमा फैलिएको उदयपुरगढी गाउँपालिका ५ मा रहेको सो ऐतिहासिक उदयपुरगढीको पुनर्निर्माणपछि गढीले आकार लिएको छ ।
करिव तीन करोड ५० लाख रुपियाँको लागतमा उदयपुरगढीको पुनर्निर्माण गरिएको छ।
आइतवार आयोजित पुनर्निर्मित गढी उद्घाटनका क्रममा नेपाली सेनाको गाईघाटस्थित पशुपतिप्रसाद गणको सहयोग तथा १८ नं बाहिनी अड्डाको समन्वयमा गढीको मध्यभागमा निर्मित मन्दिरमा महाकाली भगवतीको मूर्ति स्थापना गरी प्राणप्रतिष्ठा गरेर आजैबाट नियमित पूजाआराधनाको सुरुवात गरिएको छ ।
उद्घाटन कार्यक्रमका अवसरमा प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद अम्बरबहादुर रायमाझीले झण्डोत्तोलन गरी ऐतिहासिक गढीमा राष्ट्रिय झण्डा फहराए। कार्यक्रममा कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले रिवन काटेर गढी प्रवेश गर्ने मुख्यद्वार खुला गराए ।
कार्यक्रममा पञ्चकन्याबाट कलस यात्रा, नेपाली सेनाको ब्याण्डबाजासहितको उच्च अधिकृतहरुको टोली, जनप्रतिनिधिहरु, राजनीतिक दलका कार्यकर्ता तथा महिला दिदिबहिनीको सहभागिता थियो ।