गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकास्थित एक मन्दिरमा केही दाताले आफ्ना पितृको सम्झनामा निःशुल्क प्रवेशद्वार निर्माण गराएका छन्।
मुसिकोट नगरपालिका–८ अन्तर्गत वामी मैदानमा रहेको खड्क निशान देवीको मन्दिर (वामी कोत) मा स्थानीय दाताले निःशुल्क रुपमा प्रवेशद्वार निर्माण गराएका हुन्।
रोजगारीको सिलसिलामा विदेश गई हाल जापानमा व्यवसाय गर्दै आएका मुसिकोट नगरपालिका–८ निवासी कृष्ण सापकोटा र सुदीप सापकोटाले आफ्ना स्व.बुबा हरिलाल सापकोटा र आमा बुद्धीकला सापकोटाको स्मृतिमा प्रदान गरिएको २२ लाख रुपैयाँमा कोतमा जाने मन्दिरको प्रवेशद्वार निर्माण गरिएको थियो। सापकोटाले धर्म र संस्कृतिको सम्वर्द्धन र जगेर्नाका लागि पनि केही गर्नुपर्छ भनेर पितृको सम्झनामा उक्त प्रवेशद्वार निर्माण गरेको बताए।
त्यसैगरी हाल जापानमै होटल व्यवसाय सञ्चालन गर्दै आएका वडा नं ८ दाल्का निवासी कृष्णप्रसाद सापकोटा, घनश्याम सापकोटा, गोपालप्रसाद सापकोटा, भीमलाल सापकोटा र राम सापकोटाले करिब चार लाख रुपैयाँ बराबरको लागतमा खुँडा निर्माण गरे। उनीहरूले आफ्ना स्व बुबा मोतिलाल सापकोटा र स्व आमा तनकला सापकोटाको स्मृतिमा परिवारका तर्फबाट संयुक्तरुपमा मन्दिर परिसरमा खुँडा स्थापना गरिदिएका हुन्।