रामेछाप। खाँडादेवी गाउँपालिका–५ मा निर्माण भएको मदन भण्डारीको सालिक तोडफोड भएको छ। पकरवासको सल्लेनी वनको बीचमा रहेको उक्त सालिक अष्टमीको राति तोडफोड भएको हो।
तोडफोड कसले गरेको हो अहिलेसम्म पत्ता लागेको छैन। मन्थली गाल्वा सडकसँग जोडिएको मदन भण्डारी पार्कमा भण्डारीको बसेको पूर्ण कदको सालिक थियो। सालिकको एउटा खुट्टा भाँचेर फालिएको बताइएको छ।
पर्यटन प्रवर्द्धनका लागि वाग्मती प्रदेश सरकारले भण्डारीको सालिक बनाएको थियो। प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पकरवासमा भण्डारीको सालिक निर्माणको काम थालेका थिए। उक्त सालिकको निर्माण गत वर्ष मात्रै सम्पन्न भएको थियो।
सडक छेउमा रहेको पार्कमा गेट रहे पनि सधैं ताला लगाइँदैन। ताला लगाइए पनि यसअघि पटकपटक तोडिएको थियो। बटुवाहरुले फोटो खिच्न नपाएर ताला तोडेको अनुमान लगाइएपछि हाल पार्क भित्र जाने ढोका खुला राखिएको छ।
जंगल बीचमा रहेको उक्त पार्कमा सुरक्षा व्यवस्था छैन। वरिपरी कसैको बसोवास समेत छैन।