काठमाडौं। स्टार हस्पिटल लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। स्टार हस्पिटलले ४० करोड रुपैयाँ सेयर पुँजी बराबरको १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।
करिब ६९ करोड चुक्ता पुँजी भएको हस्पिटलसँग २५ प्रतिशत अग्राधिकार सेयरसहित ८५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। आईपीओ जारी गरेसँगै केही संस्थागत लगानीकर्ता, बीमा कम्पनी, प्राइभेट इक्विटी कम्पनी तथा निजी संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँभन्दा बढी हुने कम्पनीले जनाएको छ।
थप पुँजी लगानीबाट अस्पतालले आधुनिक उपकरणसहित नयाँ उपचार सेवाका विधाहरु क्यान्सर, आइभीएफ सेवा र देशका विभिन्न स्थानहरुमा उपचार सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको छ। यथाशक्य चाँडै नै कम्पनीले अन्तर्राष्ट्रिय बैंकसँग समेत सहकार्य गर्ने क्रममा केही प्रख्यात विदेशी अस्पतालसँग पनि सहकार्य गर्ने जनाएको छ।
आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि हस्पिटलले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।