कास्की। फिर्के खोलाको बहाव क्षेत्रमा बनेका संरचना हटाउन पोखरा महानगरपालिकाले आग्रह गरेको छ। पोखरा १८ अधेरी कुनादेखि पोखरा २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने खोला वरपरका संरचना हटाउन महानगरले शुक्रवार ३५ दिने सूचना जारी गरेको हो ।
सूचनामा खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू पूर्ण रूपमा ३५ दिनभित्र हटाउन भनिएको छ । महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नाप जाँच गरी यकिन गरेको खोलाघरभित्र अस्थायी र स्थायी गरी एक सय ६० संरचना छन् ।
तोकिएको मितिभित्र संरचनाहरू नहटाए महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने जनाएको छ । यसअघि पोखरा महानगरले गठन गरेको फिर्के सिमाङ्कन टोलीले असोज ६ गते प्रतिवेदन पेस गरेको थियो । टोलीले बेलैमा उचित कदम नचाले फिर्के खोला नै हराउने र प्राकृतिक विपत्ति निम्तिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ ।