काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनुपर्ने बताएका छन् ।
अखिल नेपाल किसान महासङ्घद्वारा आज आयोजित अन्तर्राष्ट्रिय जैविक पर्यावरणीय प्रयोगात्मक कृषि तालिमको उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कृषि उत्पादनमा सरकारले उपलब्ध गराउने अनुदानबाट कृषि उत्पादनको लागत घट्ने बताए । मुलुकमा भएका राजनीतिक आन्दोलनबाट जनताले राजनीतिक अधिकार प्राप्त गरेको भए पनि आर्थिक–सामाजिक अधिकार प्राप्त नभएको बताउँदै उनले वर्गीय शोषणको अन्त नहुँदा आर्थिक रुपान्तरण हुन नसकेको बताए ।
उत्पादन, रोजगारी नै समाजवादीको मुख्य आधार भएको बताउँदै अध्यक्ष नेपालले उद्यमशीलताको विकास गरी आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनमा जनतालाई जोड्नुपर्ने विचार व्यक्त गरे ।