काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले भदौ मसान्तसम्म ११ अर्ब १८ करोड भन्दाबढी बक्यौता रकम उठाउन बाँकी छ। विगतमा डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् लिएका उपभोक्ताबाट असुल उपर गर्नुपर्ने बक्यौता महसुल र सडक बत्तीबापत स्थानीय निकायले तिर्नुपर्ने महसुलबाहेक अन्य उपभोक्ताबाट गत भदौ मसान्तसम्म करिब ११ अर्ब १८ करोड ६८ लाख रुपैयाँ बराबर रहेको हो।
प्राधिकरणले बक्यौता रकम नतिर्ने उपभोक्ताको लाइन काट्ने तयारी गरिरहेको छ।
डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् सेवा लिएका उपभोक्तासँगको बक्यौता महसुल बुझाउने समयसीमा तोकी प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरेको छ। सो समयसीमाभित्र महसुल नबुझाउने उपभोक्ताहरुको विद्युत् लाइन काट्ने प्राधिकरणको तयारी छ। सडक बत्तीबापतको विद्युत् महसुल नतिर्ने स्थानीय निकायको नामसहित प्राधिकरणले बक्यौता महसुल विवरणसहित ४५ दिनको समय तोकी मिति गत असोज २१ गते सूचना प्रकाशित गरेको छ।
सूचनामा तोकिएको समयमा महसुल नबुझाउने स्थानीय निकायहरुको विद्युत् लाइन काट्ने सम्बन्धमा प्राधिकरणले सम्बन्धित स्थानीय विद्युत् वितरण केन्द्रलाई निर्देशन दिइसकिएको छ।
प्राधिकरणले विनियमावलीको प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताको चरणबद्ध रुपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुल उपर गर्ने नीति तय गरेको हो।