सुर्खेत। पश्चिम सुर्खेतको चौकुनेमा सूर्यतारा सिमेन्ट उद्योग पुनः सञ्चालन गरिने भएको छ। कर्णाली प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि पुनः उद्योग स्थापनाका लागि तयारी थालिएको हो।
आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेर काम अघि बढाइने जनाइएको छ । उद्योग निर्माणको काम अहिले ठप्प छ । विद्युत्, खानेपानी र पहुँच मार्गलगायतका भौतिक पूर्वाधार नभएको भन्दै उद्योगले काम रोकेको हो । प्रदेश सरकारले यिनै पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा समेत ठुला उद्योग सञ्चालनका लागि पूर्वाधार सहयोग गर्ने जनाएको छ । सोहीबमोजिम बजेट विनियोजन गरेर उद्योगको काम अघि बढाउन सहयोग गर्ने बताइएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनको काम अघि बढाउन पहल गरिरहेको छ । आयोजनाको काम लामो समयदेखि ठप्प भएको भन्दै मन्त्रालयले चासो राखेको हो । त्यहाँको बस्ती र उद्योग सञ्चालनका लागि खानेपानीको योजना अघि सारिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कायक्रमको ३० लाख बजेटमा खानेपानीको योजना अघि बढाइने छ ।
सिमेन्ट उद्योग सञ्चालनको काम अघि बढाउन पहल भइरहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले बताए । उनका अनुसार प्रदेशको हितको योजना भएकाले पुनः काम अघि बढाउन पहल गरिएको छ । विद्युत् र पहुँच मार्ग निर्माणका लागि प्रदेशका सम्बन्धित मन्त्रालय र सङ्घीय सरकारसँग समेत छलफल गरिएको मन्त्री बिसीले जानकारी दिए।