काठमाडौं। लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको एक उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्री डा.प्रकाशशरण महत लण्डन पुगेका छन्। लन्डन म्यान्सन हाउसमा ३१ अक्टोबरमा हुने ‘इमर्जिङ नेपालस् अपरचुनिटिज फर इम्प्याक्ट इन्भेष्टमेन्ट एण्ड ट्रेड’ विषयक सम्मेलनका लागि अर्थमन्त्री महत लण्डन पुगेका हुन्।
बेलायत सरकारसँगको समन्वयमा दूतावासले लगानी सम्मेलन गर्न लागेको हो ।मन्त्री महतका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी छन् । हिथ्रो विमानस्थल टर्मिनल ४ मा उत्रँदा मन्त्रीलाई राजदूत ज्ञानचन्द्र आचार्य, कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ लगायत पदाधिकारी र व्यवसायीले स्वागत गरे।
मन्त्री महतले सम्मेलनका क्रममा ब्रिटिस लगानीकर्ता र विकास साझेदार कम्पनीहरूसमक्ष नेपालमा लगानीको वातावरण, कानुनी व्यवस्था, सरकारका प्रस्ताव र लगानीका सम्भावित क्षेत्र आदिबारे प्रस्तुति दिनेछन् ।
नेपालमा बढी भन्दा बढी लगानी भित्र्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको अवसरमा मन्त्री महतले ब्रिटिस मन्त्रीहरुसँग समेत भेट्ने कार्यक्रम रहेको छ ।