काठमाडौं। नेपाली कांग्रेसले कात्तिकको तेस्रो साता ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ। पार्टीका संस्थापकमध्येका एक र ‘लेजेन्डरी अर्थमन्त्री’ सुवर्ण शम्शेरको स्मृति दिवस पारेर कांग्रेसले कात्तिक २३ र २४ गते इकोनोमी कन्क्लेभ गर्न लागेको हो।
आन्तरिक उपभोग निरन्तर घटेको, राजस्व लक्ष्यअनुसार नउठेको र वैदेशिक रोजगार तथा अध्ययनका लागि युवापुस्ता पलायन हुने क्रम बढिरहेका बेला कांग्रेसले गम्भीर बहस गर्न लागेको हो।
कन्क्लेभ केन्द्रमामात्र सीमित नगरी देशभर हुने कांग्रेसका महामन्त्री गगन थापाले बताए। उनका अनुसार सूचना प्रविधिदेखि नेपाली उत्पादनसम्मका विषयमा बहस हुने कार्यक्रम ७५३ वटा पालिकामा, सात वटा प्रदेशमा र केन्द्रमा हुने छ।
‘इकोनोमी कन्क्लेभ’ मा हरेक क्षेत्रमा अर्थविद्सँग आर्थिक नीतिका बारेमा विभिन्न आयामबारे छलफल हुनेछ। कार्यक्रम अर्थविद्, पूर्वअर्थमन्त्रीहरुलाई वक्ताका रुपमा राख्ने कांग्रेसको तयारी छ।
कन्क्लेभबाट कांग्रेसको अर्थनीति तय हुने बताइएको छ।
त्यसैगरी कृषिप्रधान देश भएर पनि परनिर्भर हुनुको कारणसमेत खोजिने बताइएको छ।