कास्की। पोखरामा पहिलो पटक विद्युतीय शवदाह गृह निर्माण भएको छ । सहरी विकास मन्त्रालयले पोखरा महानगरपालिका–१०, रामघाटमा विद्युतीय शवदाह गृह निर्माण गरेको हो।
दुई शवलाई करिब ४५ मिनेटमा जलाएर शवदाह गृहको शुक्रबार परीक्षण गरिएको छ । एक महिनासम्म परीक्षणका रूपमा शव दहन गरिसकेपछि शवदाह गृह पोखरा महानगरलाई हस्तान्तरण गर्ने तयारी छ ।
महानगर प्रमुख धनराज आचार्यले युगको आवश्यकता अनुरूप विद्युतीय शवदाह गृह बनेको बताउँदै महानगरलाई हस्तान्तरण भइसकेपछि जनशक्ति व्यवस्थापनसहित उचित तवरले यसको सञ्चालन गरिने प्रतिबद्धता जनाए।
रामघाटमा शव दहनलाई व्यवस्थित गर्ने उद्देश्यले १४ करोड १३ लाख ५० हजार रुपियाँको लागतमा आधुनिक शवदाह गृह निर्माण भएको हो । भवनभित्र शव दहन गर्ने तीन मेसिन राख्ने स्थान भए पनि अहिले दुई वटा मेसिन राखिएका छन् । शवदाह गृह १० रोपनीमा फैलिएको छ ।
शवदाह गृहभित्र अन्तिम श्रद्धाञ्जली दिने स्थानसमेत छ । शवदाह गृह परिसरभित्रै हिन्दु धर्मावलम्बीका लागि मन्दिर र बौद्ध धर्मावलम्बीका लागि गुम्बा निर्माण गरिएको छ । निर्माण कम्पनी सिनर्जी विल्डर्स प्रालिका प्रोजेक्ट म्यानेजर इन्द्र खनालले कम्तीमा ४५ मिनेटदेखि बढीमा एक घन्टाभित्र एउटा मेसिनले एउटा शव दहन गर्ने जानकारी दिए।