मकवानपुर। हेटौंडा सिमेन्ट उद्योगको उत्पादन फेरि रोकिएको छ। उद्योगले कोइला खरिद गर्न नसकेपछि सोमबारदेखि उत्पादन बन्द गरेको हो।
दशैंअघि सम्म सञ्चालनमा रहेको उद्योगले तीन लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो। दशैं लगत्तै कोइला अभावको कारण देखाउँदै उद्योगको उत्पादन ठप्प पारिएको छ।
आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएको हुँदा सिमेन्ट उत्पादन बन्द गरेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए । आर्थिक संकटबारे संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने व्यवस्थापनले जनाएको छ।
चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ ।
कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने बताइएको छ।