काठमाडौं। रत्नपार्क–सूर्यविनायक रुटमा तिहारपछि पुन: द्रुत बस सेवा सञ्चालन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्राविधिक र व्यवस्थापकीय समस्या समाधान गरी तिहार बिदापछि द्रुत बस सेवा पुन:सञ्चालनमा ल्याउने बताएका हुन्।
मन्त्री ज्वालाले द्रुत बस पुन: सञ्चालनका लागि तिहार बिदासम्म प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाइसक्ने दाबी गरे। उनले द्रुत बसको संख्या २५ वटाबाट बढाउने पनि बताए। प्राविधिक र व्यवस्थापकीय समस्या समाधानका लागि भन्दै मन्त्रीले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरेका छन्।
मन्त्री ज्वालाले संविधान दिवसका दिन उद्घाटन गरेको द्रुत बस सेवा चौतर्फी आलोचनाका कारण एक महिना नहुँदै असोज अन्तिममा बन्द भएको थियो।
द्रुत बस सेवाका नाममा रातो रंग पोतिएको लेनमा अरु सवारीसाधन चलाउन नदिइएपछि ट्राफिक व्यवस्थापन निकै भद्रगोल हुन पुगेको थियो। जसका कारण एम्बुलेन्स र वारुणयन्त्रले अलग लेन नपाएको अवस्थामा सीमित बसका लागि सडक छुट्याइएको भनेर सरकारको चर्को आलोचना भएको थियो।