काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी बढाउन बेलायतका गैर आवासीय नेपालीलाई आग्रह गरेका छन्। नेपाल जनसम्पर्क समिति बेलायतले लन्डनमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको जलविद्युत् र पर्यटनमा लगानीको प्रतिफल उच्च रहेकाले लगानी बढाउन आग्रह गरेका हुन् ।
बेलायतस्थित गैर आवासीय नेपालीको समेत लगानीमा चन्द्रागिरि हिल्स तथा केबलकार सञ्चालनमा ल्याएको चन्द्रागिरि हिल्स नेपालकै आकर्षक पर्यटन गन्तव्य बनेको र उच्च प्रतिफल दिएको उदाहरण प्रस्तुत गर्दै उनले लगानी बढाउन हिचकिचाउनु पर्ने कारण नरहेको बताए ।
सातै प्रदेशमा चन्द्रागिरि जस्तै हिल स्टेसन सहितका केबलकार परियोजना अघि बढाएको उल्लेख गर्दै अध्यक्ष ढकालले आफू जन्मे हुर्केको प्रदेशमा रहेका पर्यटकीय पूर्वाधार परियोजनामा लगानी गर्न पनि आग्रह गरे ।
कास्कीको सिकलेस, ताप्लेजुङको पाथिभरा र कर्णालीको चिसापानीमा जालपादेवी केबलकार परियोजना निर्माणको चरणमा प्रवेश गरिसकेको भन्दै उनले लगानीको अवसर हातमै आइपुगेको बताए ।
गैर आवासीय नेपालीसँगको सहकार्यमा म्याग्दीमा जलविद्युत् परियोजना सम्पन्न भइसकेकोले अन्य जलविद्युत् परियोजनामा समेत लगानी बढाउन उनले आग्रह गरे ।