बाँके। बाँकेको डुडुवा गाउँपालिकाको सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माण गर्न पहल थालिएको छ। सिधनिया घाटमा अन्तिम संस्कारका लागि समस्या देखिएपछि पर्यटन व्यवसायी समेत रहेका नागरिक सभाका अगुवा श्रीराम सिग्देलले व्यवस्थित घाट निर्माणका लागि पहल थालेका हुन्।
नागरिक समाजका अगुवा सिग्देलसहित भोला महत, कृष्णप्रसाद श्रेष्ठ, ईश्वर पोखरेल, डा.सुरेशकुमार कनोडियालगायतको टोलीले व्यवस्थित घाट र आवश्यक संरचना निर्माणका लागि जग्गा खोजीका लागि स्थानीय सँग अन्तरक्रिया गरेका छन्।
राप्ती किनारमा करिब ५ कठ्ठा जग्गा खरिद गरी शवदाहस्थलसहित अन्य केही संरचना निर्माणको योजनासहित जुटेको सिग्देलले बताए। घाट निर्माणका लागि डुडुवा गाउँपालिकाले ४० लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिकाले समेत सहयोगको आश्वासन दिएको छ । सरकारी तहबाहेक दाताहरूले पनि सहयोगको प्रतिबद्धता जनाएपछि नागरिकस्तरबाट पहल अघि बढाइएको हो । घाटमा ४–५ वटा व्यवस्थित शवदाहस्थल निर्माण गर्ने योजना रहेको छ ।