म्याग्दी। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा पुगेका महामन्त्री थापाले पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताएका हुन्।
उनले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्ग भएकाले यसलाई मानिस दिन नहुने बताए।
उनले भने, “कास्कीको नयाँपुलदेखि म्याग्दीको घोडेपानी आउँदा सडकमा पर्यटकहरु धुलो खाँदै असहज रुपमा हिँडिरहेको देख्दा दुख लाग्यो। नेपालको पर्यटन क्षेत्रको विशिष्टता बोकेको पदमार्ग हुुन् । पदमार्गको संरक्षण गरी यात्रा सहज बनाउनेतर्फ सबै सचेत बन्नुपर्ने देखिएको छ ।”
पर्यटकीय क्षेत्रमा नयाँ सडक निर्माण गर्दा भएका पदमार्ग र प्राकृतिक सम्पदालाई असर नपर्ने गरी बनाउन नीतिगत पहल गर्नुपर्ने समेत उनले बताए।
शान्त, एकान्त वातावरण, वन पैदावार, वन्यजन्तुको संरक्षणका साथै पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने थापाको भनाइ छ। काठमाडौँदेखि पोखरा आएर नयाँ पुल उल्लेरी पैदलयात्रामार्फत घोडेपानी आएका थापाले नेपालीले विदेश भन्दा नेपालकै पर्यटकीयस्थल घुम्नुपर्नेमा जोड दिए।