काठमाडौं। नेपाल र दक्षिण कोरियाबीच कृषिमा सहयोग आदानप्रदानका लागि सम्झौता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र गणतन्त्र कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ्ग व्हाङ्गक्वुनबीच कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपक्षी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
कृषि तथा पशुपक्षी क्षेत्रको अध्ययन, अनुसन्धान तथा विकास, पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा दुई देशबीचको सहयोग र सहकार्य गर्न सकिने समझदारी पत्रमा उल्लेख छ । सम्झौता भएसँगै नेपाल कृषि अनुसन्धान परिषद् र कोरियाको कृषि अनुसन्धान परिषद्बीचको सहकार्यमा कृषि क्षेत्रको अनुसन्धानका कार्य अगाडि बढाइने छ। दुई देशका कृषि विश्वविद्यालयको सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनका काम हुनेछन् ।
सम्झौतामा दुई देशबीचको सहयोग र सहकार्यमा कृषि तथा पशुपक्षी विकासको क्षेत्रमा विशेष गरी संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण, दुग्ध व्यवसाय लगायतका क्षेत्रमा कार्य गर्ने, कृषि पूर्वाधारको विकास, तालिम केन्द्र निर्माण, कृषि बजार विकासमा सहकार्य गर्ने, कृषि क्षेत्रसँग सम्बन्धित प्राविधिक मानव संशोधन, युवा कृषक तथा निजी क्षेत्रमा कृषि उद्यमीको क्षमता अभिवृद्धि गर्ने विषय उल्लेख छन् ।