चितवन। बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले विकास निर्माणका काममा भविष्यलाई सोचेर योजना बनाउनुपर्ने बताएका छन्।
पूर्वाधार विकास कार्यालय भरतपुरले आयोजना गरेको सिसवार–सिसही–वनकठ्ठा–मगनी–नमुनाचोक–पिप्रा–दद्रनी सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भविष्यका लागि सोचेर ठूला परियोजना निर्माण गर्नुपर्ने बताएका हुन् ।
निर्वाचनको समयमा विचार फरक भए पनि विकास निर्माणमा सबै मिलेर अघि बढ्नुपर्ने मन्त्री दुलालको भनाइ छ। उनले भने, “विकासका लागि मिलेर जाने हो । हामी मिल्न सकेनौँ भने विकास भन्दा पनि विनाश बढी हुन्छ ।” प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्ममा एक हजार किलोमिटर सडक निर्माण सम्पन्न गर्ने गरी काम गरेको मन्त्री दुलालले जानकारी दिए ।