जाजरकोट। जाजारकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति गएको शक्तिशाली भूकम्पपछि निरन्तर साना र ठुला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन्। उनका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् ।
भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको हो। भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ ।
भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेको बताइएको छ।