काठमाडौं। सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न निर्देशन दिएको छ। रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अन्तको उडान स्थगित गरेर भए पनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएका छन्।
रुकुमपश्चिमको चौरजहारी र खलंगामा एयरपोर्टहरु छन्। तर जाजरकोटमा एयरपोर्ट भए पनि सन्चालनमा छैन। रुकुमका एयरपोर्टहरुमा साना ट्वीनअटर हवाईजहाजमात्र उडान हुने गरेका छन् ।
जाजरकोट जिल्ला र चौरजहारी नजिक भएकाले चौरजहारी एयरपोर्टबाट जाजरकोटमा पनि सेवा पुर्याउन सकिने सरकारको विश्वास छ ।
यसैगरी सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले रुकुमलाई केन्द्रित गरी नेपालगञ्ज, सुर्खेत लगायतका स्थानमा पनि अन्य एयरलाइन्सलाई स्ट्याण्डबाई रहन निर्देशन दिएका छन्।