काठमाडौं। दार्चुलाको महाकाली नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना मावि धापमा आइतबार नवनिर्मित १२ कोठे विद्यालय भवनको उद्धघाटन एबं हस्तान्तरण गरिएको छ। भारतीय राजदूतावासको सहयोगमा निर्माण भएको १२ कोठे भवनलाई निर्माण व्यवसायीको तर्फबाट सर्पराज बडूले महाकाली नगरपालिकाका अधिकृत नरसिंह बडाललाई विद्यालय भवन हस्तान्तरण गरेका हुन्।
भारतीय राजदूतावास काठमाडौंका नियोग उपप्रमुख नामग्य सी. खम्पाले मावि धापमा निर्माण भएको भवन एक औपचारिक कार्यक्रमकाबीच उद्धघाटन गरेकी हुन्। भवन उद्धघाटन तथा हस्तान्तरण कार्यक्रमका लागि उपप्रमुख खम्पा शनिबार नै दार्चुला गएका थिइन्। ३ करोड १४ लाख रुपियाँ बजेट रहेकोमा टेण्डर प्रक्रियामार्फत निर्माण कम्पनीसँग घटाघटीमा २ दुई करोड ५३ लाख रुपियाँमा भवन निर्माण सम्झौता भएको विद्यालयका प्रधानाध्यापक सुन्द्रसिंह बुढाथोकीले जानकारी दिएका छन्।
मालिकार्जुन नमुना माबि धापमा कक्षा १२ सम्मको पढाइ हुँदैआएको साथै प्राविधिक धारतर्फ कक्षा ९ देखि सिभिल इन्जिनियरिङ विषयको समेत पढाइ हुनेगरेको प्रधानाध्यापक बुढाथोकीले जानकारी दिएका छन्। मावि धाप सदरमुकाम नजिकै रहेको र पढाइ राम्रो हुने गरेकाले विद्यार्थीको आकर्षण बढिरहेको विद्यालय प्रशासनले जानकारी दिएको छ।
त्यसैगरी भारतीय राजदूतावासका उपप्रमुख खम्पा भवन हस्तान्तरण गरेर दार्चुला सदरमुकाम खलङ्गा फर्किएकी छिन्। खलङ्गामा जिल्ला समन्वय समितिका पदाधिकारी, जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको बताउँदै सोमबार राजदूतावासको तर्फबाट दुहुँ गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेर काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रधानाध्यापक बुढाथोकीले जानकारी दिएका छन्।