काठमाडौं। जाजरकोट भूकम्पमा राहत वितरण एकद्वार प्रणालीमार्फत गरिने भएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आज बसेको बैठकले भूकम्पमा राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने निर्णय गरेको हो।
त्यसैगरी खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकता दिने निर्णय समेत गरेको छ। सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक बेस मानेर उद्दार कार्य गरिने छ।
प्रभावित क्षेत्रमा चिकित्सिक, स्वास्थ्य सामग्री र औषधि पठाइएको छ भने थप आवश्यक परे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
प्रभावित क्षेत्रमा त्रिपाल, कम्मल र खानेकुराको व्यवस्था गर्ने, आवश्यक परे थप पठाउने उपप्रधानमन्त्री श्रेष्ठले बताए । छिमेकी तथा अरु देशले पनि आवश्यक सहयोग गर्ने वचन दिएको तर उनले आवश्यक परे मात्र सरकारले सहयोगका लागि आग्रह गर्ने जानकारी दिए।
उपप्रधानमन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म १३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १६१ जना घाइते भएका छन् ।