काठमाडौं। जाजरकोट र रूकुम पश्चिममा भूकम्पले घर भत्काएको ठाउँमा बाहेक अन्य स्थानमा विद्युत् सेवा सुचारु भएको छ। नेपाल विद्युत प्राधिकरणले लाइन तथा पोलहरूको मर्मतसम्भार गरी बिहान १० बजेपछि विद्युत् सुचारू गरेको हो।
भूकम्पका कारण पोल तथा लाइनहरूमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो।
सुरूमा अस्पतालहरूको लाइन सुचारू गरिएको प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयले जानकारी दिएको छ।
घरहरू भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ भने आपूर्ति बन्द गरिएको कार्यालयले जनाएको छ।