काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन्।
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा काठमाडौँमा आयोजित सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भने, ‘नेपालमा लगानीका अवसर बढ्दै गएका छन् र लगानी सहज बनाउने कानुनहरु निर्माण भइरहेका छन्। म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु।”
राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको नेपालमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसर रहेको बताए।
उनले भने, “नेपाली विद्युतको बजार अब भारत र बङ्गलादेश पनि बन्दैछ, विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ। म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु।”