रुकुमपश्चिम। जाजरकोट भूकम्पमा परी रुकुमपश्चिमको आठबिस्कोट नगरपालिकामा मात्रै पाँच हजारभन्दा बढी घरमा क्षति पुगेको छ। नगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण आठबिसकोटमा मात्रै पाँच हजार एक सय १० वटा घरमा क्षति पुगेको हो।
तीमध्ये चार हजार घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् भने अधिकांश घरहरु चर्किएर बस्न नमिल्ने भएका छन्। साढे नौ हजार घरधुरी रहेको आठबिसकोटमा ८० प्रतिशत घरहरु क्षतिग्रस्त भएका हुन्।
बाहिरबाट हेर्दा राम्रै देखिने तर प्राय कच्चि घरहरुका भित्री भागहरु भत्किने गरेको जनाइएको छ । आंशिक रुपमा क्षति भएका र सामान्य क्षति भएका घरहरु चर्किएर बस्न सक्ने अवस्था नरहेको स्थानीयको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक तथ्याङ्कले भने दुई हजार १३६ घरमा पुर्ण रुपमा क्षति भएको जनाइएको छ । जाजरकोटमा गएको भुकम्पमा परी सबैभन्दा बढी प्रभावित क्षेत्र आठबिसकोट नगरपालिका बनेको छ ।