काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण भ्रमण गरेकी छन् ।
सोमबार मन्त्री भुसालले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गरेकी हुन्।
निरीक्षणका क्रममा मन्त्री भुसालले सरकारी तहबाट निर्माण भइरहेको जलाशययुक्त आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन निर्देशन दिएकी छन्। उनले भनिन्, ‘कुलेखानी बाहेक सञ्चालमा रहेका सबै आयोजनाहरु नदीको बहावमा आधारित भएकोले हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत आयात गर्नु पर्ने र वर्खामा खपत गर्न नसकी खेर फाल्नु पर्ने अवस्था छ । यस्तो अवस्थाको अन्त्यका लागि रणनीतिक महत्वको जलाशययुक्त तनहुँ आयोजनाको निर्माण स्रोत, साधन, स्थानीय समस्यालगायतका कारणले ढिलाइ हुनुहुँदैन, तोकिएकै समय र लागतका सम्पन्न गर्नु पर्छ ।’
निर्माण कार्यमा स्थानीय तह र अन्तरमन्त्रालय समन्वयका साथ अगाडि बढाउनु पर्ने उल्लेख गर्दै उनले निर्माणमा आई पर्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्। उनले आयोजनाको जलासय बनेपछि यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने र त्यसबाटे स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने बताइन् ।