काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रिकेट रङ्गशालालाई चाँडै राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गरी निर्माण गर्ने बताएका छन्। नेपाल टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषणा गरिएको पुरस्कार रकम वितरण गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
उनले भने, ‘क्रिकेट रङ्गशालालाई चाँडै राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गर्छौँ ।’
प्रधानमन्त्रीले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गरेको भन्दै खेलाडीलाई बधाइ समेत दिए। उनले दश वर्षपछि नेपाल टी–२० मा छनोट भएको र विश्वकपमा पनि राम्रो मेहनत गर्न सुझाव समेत दिए।
नेपाली क्रिकेट टोलीले छनोट चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटप्रति नेपाली जनता र युवाको लगाव बढेको बताए । यो लगावले सरकारलाई पनि उत्प्रेरित गरेको र खेलाडीमा अझ बढी हौसला बढाउन, उनीहरूका लागि बढी लगानी गर्न र खेलकुदका अझ बढी पूर्वाधार विकास गर्न सरकारलाई प्रेरणा मिलेको समेत बताए।