स्याङ्जा। वालिङ नगरपालिकाले एकै पटक १२ वटा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण गरेको छ । नगरपालिकाले सहज स्वास्थ्य सेवा प्रवाह गर्नका लागि १२ वटा स्वास्थ्य चौकी भवन निर्माण गरेको हो।
११ करोड १८ लाख लागतमा सङ्घीय सरकारको अनुदानमा आधुनिक भवन निर्माण सम्पन्न गरिएको हो। नवनिर्मित स्वास्थ्य चौकी भवन र विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार शुभारम्भ गरेका हुन्।
वालिङ नगरपालिकाभित्र बिरामीले अब बिरामी कार्ड बोकेर हिँड्नु नपर्ने भएको छ । स्याङ्जामै पहिलो पटक वालिङ नगरपालिकाका १८ वटा स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (इएचएमआइएस) एकै पटक सुरु गरेसँगै कार्ड बोक्नु नपर्ने भएको हो ।
वालिङ नगरपालिकाले गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको साझेदारीमा इएचएमआइएस सञ्चालनमा ल्याएको हो । ११ पालिका रहेको स्याङ्जामा वालिङ नगरपालिकामा यो प्रणाली जिल्लामा पहिलो पटक सुरु भएको हो ।