काठमाडौं। भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको खलंगास्थित तिंकरमा निर्मित मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ भवनको उद्धघाटन गरिएको छ। १ करोड २७ लाख रुपैयाँ सहयोगमा निर्भित सो भवनको भारतीय राजदूतावासकी नियोग उपप्रमुख श्रीमती नामग्य सी खम्पा, जिल्ला समन्वय समिति दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले संयुक्त रुपमा उद्धघाटन गरेका छन्।
यसैगरी सन् १९६० मा स्थापना भएको सो विद्यालयले लामो समयदेखि गुणस्तरीय प्राथमिक तहको शिक्षा प्रदान गर्दै आएको छ। नवनिर्मित भवनले ग्रामीण क्षेत्रको सिकाइ वातावरणलाई सुधार गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा टेवा पुग्ने भारतीय राजदूतावासले विश्वास व्यक्त गरेको छ।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको दूतावासले जानकारी दिएको छ। हालसम्म ४५९ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको दुतावासले जानकारी दिएको छ। जसमध्ये दार्चुलाका ६ र सुदूर पश्चिम प्रदेशमा ३२ वटा रहेका छन्। यसैगरी भारतीय राजदूतावासले दार्चुला जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई ५ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ।