कास्की। गण्डकी प्रदेशको २५ वटा पालिकामा खेल मैदान निर्माण गरिने भएको छ। प्रदेशका ८५ पालिकामध्ये छानिएका २५ पालिकामा खेल मैदान निर्माण गर्नका लागि प्रदेश सरकारले सहयोग समेत गर्ने भएको हो।
प्रदेशमा ‘एक पालिका, एक खेल मैदान’को अवधारणामा प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने भएको छ।
पालिकाहरुले खेलमैदान बनाउने प्रस्ताव मङ्सिर १७ गतेभित्र पेश गर्नुपर्ने छ। यसका लागि मन्त्रालयले यो आर्थिक वर्षका लागि चार करोड विनियोजन गरेको मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले बताए ।
गण्डकीको पोखरा महानगरपालिका बाहेक अरु पालिकामा खेलकुद मैदानका लागि फराकिलो जग्गा छैन । सङ्घीयतापछि पालिकाहरुले राष्ट्रपति रनिङ सिल्ड आयोजना गर्दै आएका छन् । गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड आयोजना गर्नका लागि समेत खेल मैदान र खेलाडी आवश्यक भएपछि खेलमैदान बनाउने योजनाले प्राथमिकता पाएको हो ।