काठमाडौं। सभामुख देवराज घिमिरेले सहकारीप्रति जनताको विश्वास र आकर्षण बढाएर देशको अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएका छन्।
शुक्रबार ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ ललितपुरको २९औँ वार्षिक साधारणसभामा बोल्दै सभामुख घिमिरेले अर्थतन्त्री निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका हुन्।
उनले राष्ट्रियस्तरका बैंक पनि नपुगेको ठाउँमा पुग्ने महत्वपूर्ण आधार सहकारी भएको भन्दै जनताको पहुँच नभएको ठाउँमा पहुँच पु¥याउने र वित्तीय कारोबारमा हरेक हिसाबबाट प्रेरणा दिने, बाटो देखाउने र देशको अर्थतन्त्रलाई मजबुत पार्ने आधारको रुपमा सहकारी रहेको बताए।
उनले भने, ‘हामीले २०७२ मा संविधान जारी गर्दा सरकारी, निजी र सहकारी गरी तीन खम्बे अर्थ नीति अवलम्बन गरेका छौँ। सहकारी भनेको कमजोर आम्दानी हुनेलाई एकताबद्ध गरेर ठूलो काम गर्न सक्ने अवसर प्रदान गर्ने माध्यम हो । सबै जनताको अर्थतन्त्र समान अवसर कायम गर्ने माध्यम सहकारीलाई राज्यले पनि प्राथमिकता र महत्व दिएको छ।’