काठमाडौं। काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा सिसि क्यामरा जडान गर्न सुरु गरिएको छ। ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवतीबहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ११२ वटा सिसि क्यामरा जडान गर्ने कार्य सुरु गरिएको हो।
ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा सिसि क्यामरा जडान गर्न थालिएको हो।
ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसि क्यामरा जडान गर्न थालेको परिषद्ले जनाएको छ।
ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि पनि सिसि क्यामरा जडान प्रभावकारी हुने परिषद्को विश्वास छ।