मोरङ। मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन निर्माणका लागि शिलान्यास गरिएको छ। भवन निर्माणका लागि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शिलान्यास गरेका हुन्।
भवन निर्माणका लागि सोही वडा निवासी गणेश भण्डारी र अम्बिका भण्डारी दम्पतीले आफ्नो दिवङ्गत छोराको सम्झानामा पाँच कठ्ठा जमिन दान गरेका छन्। उक्त भवन जिपी बिल्डर्स कम्पनीले एक करोड ४४ लाख ६१ हजार १३ मा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ। दुईतले भवनको विस्तृत आयोजना प्रतिवेदन सात करोडको तयार भएको छ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीसहित मोरङ क्षेत्र ३ ९१०का प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, प्रदेश सरकारका सहरी तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर अजय श्रेष्ठसमेतको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले सना टुक्रे आयोजना नल्याउने बताएका छन्। उनले प्रदेश सरकारले अब ठूला विकासका आयोजनामा मात्र ध्यान दिने बताए।
उनले भने, “कम वजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालनहुँदा छिटो आर्थिक समृद्धि हुन्छ। संघबाट आएको टुक्रे योजनाका बजेट दुरुपयोग हुने गरेको छ।”
समाजका लागि निःस्वार्थ उपलब्धिमूलक काम गरी परिणाम देखाउने काम गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन्। प्रदेश सरकार भौतिक विकाससँगसँगै मानवीय विकासको लक्ष्यमा लागेको जनाउँदै यस कार्यमा साथ दिन जनतासँग आग्रह गरेका छन्।