मुस्ताङ। मुस्ताङको सबै स्थानीय तहका बासिन्दाका लागि कोरला नाका खुला गरिएको छ। यहाँका स्थायी बासीका लागि कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने गरी नाका खुला गरिएको हो।
चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँच वटै स्थानीय तहका बासिन्दालाई आवत जावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुबीच सोमबार सहमति भएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान प्रवेशपत्र वितरण गरेको थियो।
सहमतिपछि गृह मन्त्रालय र स्थानीय तहहरुसँग समन्वय गरेर थप पालिकाबासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाइने बताइएको छ।
कोरला नाकामा पहिलो चरणमा चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रवेश अनुमतिपत्रको आधारमा चीनको नेचुङ-लिची सम्म ब्यापार, व्यवसायका लागि नियमित आवत जावत थालेका छन्।
कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो। त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशिय व्यापार मेला हुने गरेको थियो। विसं २०३२ देखि कोरला नाका आवत(जावतमा कडाइ गरिएको थियो।
विसं २०५८ सम्म रोकतोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको थियो। कोरला नाका नियमित सञ्चालन र सबै मुस्ताङबासीलाई आवत जावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भएको बताइएको छ।