काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय लगत्तै टिकटक हटाउन दिएको निर्देशन पालना नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ।
प्राधिकरणले मंगलबार सूचना सार्वजनिक गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रयोगमा तत्काल रोक लगाउने निर्णय लगत्तै इन्टरनेट प्रदायकलाई कार्यान्वयनका लागि दिएको निर्देशन पालना नगरे कारबाही गर्ने चेतावनी दिएको हो।
निर्देशन दिएको २४ घण्टासम्म पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो।
प्राधिकरणको सूचनामा भनिएको छ, ‘‘निर्णय कार्यान्वयनको लागि दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट निर्देशन दिइसकेकोमा केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्ने बुझिन आएकोले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सबै सेवा प्रदायकलाई अनुरोध गरिएको छ।’’