काठमाडौं । भाइटीकामा मात्र खुला हुने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर आज बिहानदेखि बेलुकीसम्मै खुल्ला हुने छ । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
दाजुभाइ–दिदीबहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दर्शन र टीका ग्रहणका लागि आवश्यक व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्दै आएको छ ।
मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौं महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।
२०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला हुँदै आएको छ ।