नेपालगञ्ज। नेपालगञ्जको बोरा गोदाममा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीस्थित एसके ट्रेडिङ्गको बोरा गोदाममा गएराति आगलागी भएको हो ।
राति करिब १२ बजेतिर लागेको आगो आज बिहान मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
विद्युतको तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरा लगायतका सामग्री जलेर नष्ट भएको छ । जुटको बोराको गोदाम भएका कारण आगलागी नियन्त्रणमा आउन थप समय लागेको थियो ।
दुई वटा बारुण यन्त्र, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ४० लाख रुपियाँ बराबरको क्षति भएको एसके ट्रेडिङ्गका सञ्चालक सुरेशकुमार शाहले बताए ।
गोदामभित्र रहेको ५० हजार थान ठूलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टाको बोरा, केही प्लाष्टिक बोरी र काठ जलेर नष्ट भएको छ । नेपालगञ्जमा रहेको उक्त गोदामबाट महेन्द्रनगर, धनगढी, राजापुर र पहाडी जिल्लाका लागि थोक दरमा गल्ला भर्नका लागि बोरा विक्री गर्ने गरिएको सञ्चालक शाहले बताए ।